
काठमाडौं – कामना सेवा विकास बैंकले ‘विश्व वित्तीय सप्ताह २०२५’ (Global Money Week 2025) को अवसरमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष मार्च महिनामा आर्थिक सहयोग तथा विकास संगठन (OECD) को संयोजनमा यो अभियान सञ्चालन हुँदै आएको छ। यस वर्ष उक्त सप्ताह मार्च १७ बाट सुरु भई मार्च २३ मा सम्पन्न भएको थियो।
बैंकले सातवटै प्रदेशमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त प्रशिक्षकहरूको सहकार्यमा आयोजित कार्यक्रमहरूमार्फत देशभर २,५०० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरिएको थियो।
कार्यक्रमका दौरान विद्यार्थीहरूलाई स–साना बचत एकत्रित गरी पुँजी निर्माण गर्ने उपाय, बचतको महत्त्व, व्यक्तिगत बजेट निर्माण गरी योजनाबद्ध रूपमा खर्च गर्ने बानीको विकास, डिजिटल कारोबारका अवसर तथा चुनौतीहरूबारे जानकारी प्रदान गरिएको थियो। साथै, विभिन्न स्थानमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी वित्तीय साक्षरतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको बैंकले जनाएको छ।
सप्ताहभरि बैंकले सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यका लागि बचत गर्ने उपाय, वित्तीय निर्णयहरूमा सामाजिक सञ्जाल र प्रभावशाली व्यक्तिहरू (influencers) को प्रभावबाट बच्नुपर्ने विषय, कालोसूचीमा पर्न सक्ने सम्भावित कारणहरू, सुरक्षित इन्टरनेट प्रयोगका उपायहरू तथा कर्जाको जिम्मेवार उपयोग र व्यवस्थापनका विषयमा सचेतनामूलक सामग्रीहरू प्रचार–प्रसार गरेको थियो।
कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनहरूमा पनि वित्तीय साक्षरता प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे