
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालकै पहिलो ‘Door Step Banking Service’ सुरु गरेको छ। बैंकले यस नयाँ सेवामार्फत ग्राहकलाई घर वा कार्यालयमै बैंकिङ सुविधा प्रदान गर्न थालेको हो।
यो सेवा विशेषगरी बैंकसम्म जान समय नपाउने ग्राहकहरूका लागि लक्षित गरिएको छ। बैंकका अनुसार, अत्याधुनिक प्रविधिमा आधारित यस सेवाबाट ग्राहकहरूले नगद जम्मा र झिक्ने, चेकबुक माग्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट लगायतका विभिन्न सेवा निशुल्क रूपमा घरमै बसेर पाउनेछन्।
ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सेवा अनुरोध गर्न सक्नेछन्। अनुरोध प्राप्त भएपछि बैंकका प्रतिनिधि ग्राहकको घर वा कार्यालयमै पुगेर सो सेवा प्रदान गर्नेछन्।
बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीका अनुसार, नेपाल राष्ट्र बैंकको स्वीकृतिसहित सुरु गरिएको यो सेवा नेपालकै पहिलो हो। उनले भने, “ग्राहक सन्तुष्टि, समय बचत र सहज पहुँच हाम्रो प्राथमिकता हो। Door Step Banking ले ग्राहकलाई सुरक्षित, सरल र प्रविधिमैत्री अनुभव दिनेछ।”
यो सुविधा विशेष गरी व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी र ज्येष्ठ नागरिकका लागि अत्यन्त उपयोगी हुने बैंकको विश्वास छ।
कामना सेवाले हाल यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरु गरेको छ। बैंकले निकट भविष्यमा यस सेवाको देशव्यापी विस्तार गर्ने तयारी गरेको छ।
बैंकका अनुसार, Door Step Banking अन्तर्गत लकर सेवा, एटीएम डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा पनि निशुल्क उपलब्ध हुनेछ।
कामना सेवा विकास बैंकको यो कदमले नेपालको बैंकिङ क्षेत्रमा प्रविधिमैत्री सेवा र ग्राहकमै केन्द्रित नयाँ युगको सुरुवात गरेको मानिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे