
काठमाडौं, असार १ ।कामना सेवा विकास बैंक लिमिटेडले दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम सम्पन्न गरेको छ। ‘सर्वोदय परियोजना’, ‘समावेशी अक्षर’ तथा ‘अनुसन्धान’ संस्थासँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम शनिबार काठमाडौंका विभिन्न स्थानका दृष्टिविहीन सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सीएसआर विभाग प्रमुख सुशिल पौडेलले सहभागीहरूलाई बचतको महत्त्व, व्यक्तिगत तथा पारिवारिक बजेटको निर्माण, आर्थिक अनुशासन, लगानीका अवसरहरू, डिजिटल कारोबार र ठगीबाट जोगिने उपाय लगायतका विषयमा सरल ढंगले जानकारी गराउनुभयो।
कार्यक्रममा ४० जना भन्दा बढी दृष्टिविहीनको सहभागिता रहेको थियो।
कार्यक्रमको समापन सत्रमा दृष्टिविहीन सहभागी कृष्ण खत्री ‘अविरल’ले वित्तीय साक्षरताको अभावमा विगतमा आफूले बैंक प्रयोग गर्न नसकेको र पैसा साथीहरूसँग राख्नुपर्ने बाध्यता रहेको बताउँदै अब बैंकिङ सेवा अपनाउने प्रतिबद्धता जनाउनुभयो। अर्का सहभागी विक्रम पथरियाले भने, “सानो बचतले भविष्यमा ठूलो काम गर्न सकिन्छ भन्ने आत्मविश्वास यो कार्यक्रममा भाग लिएपछि प्राप्त भयो।”
सर्वोदय परियोजनाका प्रतिनिधि सौगात वाग्लेले दृष्टिविहीनहरूलाई मोबाईल बैंकिङ, एटीएम कार्ड लगायतका सेवा बराबरी रूपमा प्रदान गरेबापत बैंकप्रति आभार प्रकट गर्नुभयो। स्वयं दृष्टिविहीन वाग्लेले पनि सुरक्षित रूपमा डिजिटल बैंकिङ सेवा उपभोग गरिरहेको जानकारी दिनुभयो।
कामना सेवा विकास बैंकले दृष्टिविहीन नागरिकहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ संचालनमा ल्याएको छ। यस खातामार्फत दृष्टिविहीन ग्राहकहरूले अन्य व्यक्तिहरू सरह मोबाइल बैंकिङ, एटीएम कार्ड लगायतका सेवा सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार, यस्तो खाता खोल्दा दृष्टिविहीन भएको आधारमा कुनै अतिरिक्त कागजात वा साक्षीको आवश्यकता पर्दैन। साथै, खाता सञ्चालनसम्बन्धी सर्तहरू ब्रेल लिपीमा पनि उपलब्ध गराइने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे