
काठमाडौं। कामना सेवाविकास बैंक लिमिटेडले झापा, दमकस्थित नमस्ते पब्लिक हस्पिटलसँग सेवाशुल्कमा विशेष छुट दिने सम्झौता गरेको छ। यस सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म विस्तार गर्ने उद्देश्यले गरिएको यो सहकार्यले बैंकसँग आबद्ध कर्मचारी तथा ग्राहकलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास लिइएको छ। बैंकका ग्राहकहरूले आफ्नो बैंकसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात पेश गरी सहज रूपमा यो सुविधा लिन सक्नेछन्।
नमस्ते पब्लिक हस्पिटलले विगतदेखि नै ग्रामीणदेखि शहरी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन निरन्तर सेवा गर्दै आएको छ। यस सम्झौताले संस्थागत सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। बैंकले भने आफ्नो सामाजिक दायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने यस किसिमको सम्झौताले समाजमा सकारात्मक सन्देश जाने जनाएको छ।
सम्झौतामा कामना सेवाविकास बैंकको तर्फबाट कोशी प्रदेश प्रमुख खिमलाल भुसाल र नमस्ते पब्लिक हस्पिटलको तर्फबाट अध्यक्ष कुबेर भट्टराईले हस्ताक्षर गरेका छन्। दुबै पक्षले सम्झौता कार्यान्वयन भएपछि सेवा प्रभावकारी रूपमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
कामना सेवाविकास बैंकले यसअघि पनि शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको छ। यसपटकको सहकार्यले झापा तथा आसपासका जिल्लाका ग्राहकलाई थप सुविधा दिने अपेक्षा गरिएको छ।
बैंकले देशभर शाखा विस्तार गर्दै वित्तीय पहुँचसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको छ। यस सम्झौताले बैंकका सम्पूर्ण कर्मचारी, ग्राहक तथा परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा राहत पुर्याउने गरी सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे