
काठमाडौँ – रुपनी शाखाका कर्मचारीमाथि भएको आपराधिक घटनाप्रति ज्योति विकास बैंक लिमिटेडले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ। बैंकका अनुसार, सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का संचालक र उनका परिवारका सदस्य तथा सहयोगीहरूले बैंकका दुई कर्मचारीलाई कर्जा किस्ता नियमित गर्ने सम्बन्धमा छलफलका लागि फर्म पुगेको बेला नियन्त्रणमा लिएर नियोजित रूपमा दुर्व्यवहार गरेका हुन्। बैंकले यस घटनालाई ज्यान मार्ने उद्देश्यसहित गरिएको आक्रमणको रूपमा वर्णन गरेको छ।
बैंकका कर्मचारीहरू उक्त छलफलका लागि बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट फर्म पुगेका थिए। बैंकले भने अनुसार, बहालवाला उपमेयरसमेत संलग्न रहेकाले कर्मचारीहरूलाई घण्टौंसम्म नियन्त्रणमा राखिएको थियो र धितो लिलामी स्थगन सम्बन्धी लिखित पत्र उपलब्ध नगराएमा ज्यान मार्ने धम्की दिइएको थियो। सुरक्षा निकायबाट तत्काल सहयोग नपाएपछि बैंकलाई त्यस पत्र जारी गर्न बाध्य गरिएको जानकारी विज्ञप्तिमा उल्लेख छ।
ज्योति विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशन र अन्य सम्बन्धित ऐन, नियमहरू पालना गर्दै राष्ट्रिय स्तरको बैंकिङ व्यवसाय सञ्चालन गर्दै आएको बताउँदै, आफ्ना कर्मचारीमाथि गरिएको यो घटना दुर्भाग्यपूर्ण भएको जनाएको छ। बैंकले यसप्रकारका अपराधी गतिविधिको कडा निन्दा गर्दै अपराधीहरूलाई कानूनी दायरामा ल्याई कडा कारवाही गरिने सुनिश्चित गरेको छ।
बैंकले थप स्पष्ट पारेको छ कि यस्ता आपराधिक मनसायले गरिएका कार्यहरूको विरुद्ध आफू सधैं कडा रूपमा उभिने र कर्मचारीहरूको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको छ। हालसालै बैंक तथा वित्तीय संस्थाहरू विभिन्न अराजक र आपराधिक गतिविधिको निशानामा परेको भन्दै बैंकले यस्ता घटनाविरुद्ध सचेत रहन र कानूनी प्रक्रिया अघि बढाउन आवश्यक कदम चालिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे