
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम ठगी गरेको आरोपमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ। प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले ४२ वर्षीय भण्डारीलाई बुधबार राति नेपाल ल्याएको हो।
अनुसन्धानका क्रममा भण्डारीले सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत १४ करोडभन्दा बढी रकम लिएको खुल्न आएको छ। गुरुङले अपचलन गरेको रकम भण्डारीले चलाउने र फिर्ता गराउने भन्दै सहकारीका पदाधिकारीसँग सम्पर्क गराएको पाइएको छ।
भण्डारीविरुद्ध गत कात्तिक १३ गते रेड नोटिस जारी गरिएको थियो। उनी थाइल्याण्ड र कम्बोडियामा लुकिछिपी बस्दै आएका थिए। साथै, उनले कास्की र बर्दियाबाट बेग्लाबेग्लै नागरिकता लिई दुई वटा राहदानी बनाएका थिए।
प्रहरीका अनुसार भण्डारीले अरू व्यक्तिका विवरण परिवर्तन गरी कीर्ते नागरिकता तथा राहदानी बनाएर ठगीमा प्रयोग गरेका थिए। अहिले उनलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे