
एजेन्सी । ‘विश्वकै गरिब राष्ट्रपति’ भनेर चिनिने होसे मुहिकाको निधन भएको छ। ८९ वर्षीय मुहिका लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका थिए। सादा जीवन र जनतामै रमाउने व्यवहारका कारण उनी विश्वभर चर्चित नेता बनेका थिए।
होसे मुहिका सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए। राष्ट्रपति हुँदा पनि उनले सरकारी महल र विलासी जीवन स्वीकार गरेनन्। सानो टिनको घरमा बस्ने, पुरानो गाडी चढ्ने र आफ्नो तलबको ठूलो हिस्सा गरिब र सामाजिक काममा दान गर्ने उनको शैलीले धेरैलाई प्रेरणा दियो। उनले आफ्नो तलबको झण्डै ९० प्रतिशत रकम समाजसेवामा खर्च गर्थे।
पूर्व विद्रोही यो नेता जेल जीवनदेखि सत्ता नेतृत्वसम्म पुगेका थिए, तर सत्तामा रहेर पनि विनम्रता र सरलता कहिल्यै छाडेनन्। उनलाई ‘विश्वकै इमान्दार र नम्र राष्ट्रपति’ भनेर पनि सम्मान गरिन्थ्यो।
उनको निधनले उरुग्वे मात्र होइन, सम्पूर्ण विश्वले एउटा असल, इमानदार र जनतामुखी नेताको गुमाउनु परेको छ। धेरै नेताहरूका लागि उनले देखाएको सादगीपूर्ण जीवनशैली आज पनि प्रेरणादायी छ।
उनको सम्झनामा उरुग्वेमा राष्ट्रिय शोक घोषणा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे