
बेरुत(एजेन्सी) । इसरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा हिज्बुल्लाहको ड्रोन उत्पादन केन्द्र लक्षित गर्दै हवाई आक्रमण गरेको छ। इसरायलले उक्त आक्रमण बिहीबार राति, इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईद अल अधाको पूर्वसन्ध्यामा गरेको हो। आक्रमणका कारण हालसम्म कुनै घाइतेको जानकारी सार्वजनिक गरिएको छैन।
इसरायल डिफेन्स फोर्स (IDF) का अनुसार, आक्रमणको निशाना हिज्बुल्लाहको भूमिगत ड्रोन निर्माण एकाई रहेको थियो, जसले हजारौं ड्रोन उत्पादन गरिरहेको दाबी गरिएको छ। इसरायलले यो कार्यमा ‘इरानका आतंककारी’ हरूको आर्थिक सहयोग रहेको आरोप लगाएको छ।
छ महिनादेखि इसरायल र हिज्बुल्लाहबीच कार्यान्वयनमा रहेको युद्धविरामका बाबजुद आक्रमण भएको हो। आक्रमणका कारण क्षेत्रका बासिन्दाहरूले भवनहरू खाली गर्नुपरेपछि हजारौं मानिसहरू सडकमा निस्किएका थिए। यसले भीडभाड र सवारी जाम निम्त्याएको थियो।
लेबनानका प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई “हाम्रो देश, सुरक्षा, स्थिरता र अर्थतन्त्रमाथिको योजनाबद्ध र सुनियोजित आक्रमण” भन्दै विरोध जनाएका छन्। उनले विशेषगरी चाडपर्व र पर्यटकीय मौसमको पूर्वसन्ध्यामा यस्तो आक्रमण हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्।
लेबनानका राष्ट्रपति जोसेफ आउनले आक्रमणलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको उल्लंघन भएको बताए। संयुक्त राष्ट्रसंघका विशेष संयोजक कार्यालयले पनि आक्रमणले ईदअलअधाको पूर्वसन्ध्यामा पुनः त्रास र भय सिर्जना गरेको बताउँदै कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आह्वान गरेको छ।
इसरायलका रक्षा मन्त्री इसरायल काट्जले भने सैनिक कारबाहीको “सफलता” को प्रशंसा गरेका छन्। उनले युद्धविराम उल्लंघन र आतङ्कवादी गतिविधिहरू रोक्न प्रत्यक्ष रूपमा लेबनान सरकारलाई जिम्मेवार ठहर गरेका छन्।
इसरायलले हिज्बुल्लाहका ड्रोनहरूलाई आफ्नो सुरक्षामा गम्भीर खतरा रहेको बताउँदै यस्तो आक्रमण आवश्यक रहेको स्पष्ट पारेको छ। हिज्बुल्लाहले भने आक्रमणबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
आक्रमण हुनुभन्दा केही घण्टा अघिनै इसरायली सेनाका प्रवक्ता अविचाय आद्रिएले बेरुतको हदथ, हारेत हरेक र बोरज एल-बाराजने क्षेत्रमा रहेका बासिन्दालाई भवन खाली गर्न चेतावनी दिएका थिए।
यसअघि, इसरायल र हिज्बुल्लाहबीच सन् २०२३–२४ मा १३ महिनासम्म चलेको द्वन्द्व पश्चात नोभेम्बरमा युद्धविरामको सहमति भएको थियो। तर, त्यसयता पनि इसरायलले लेबनानमा हिज्बुल्लाहसँग सम्बन्धित मानिने विभिन्न लक्ष्यहरूमा आक्रमण गर्दै आएको छ।
लेबनानका अधिकारीहरूका अनुसार उक्त द्वन्द्वमा इसरायली आक्रमणबाट करिब ४,००० मानिसले ज्यान गुमाएका थिए र १२ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।
युद्धविरामका बाबजुद भइरहेका निरन्तर आक्रमण र सैनिक गतिविधिका कारण इजरायल–लेबनान सम्बन्ध पुनः तनावपूर्ण बन्दै गएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे