
काठमाडौँ । इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ३२ जनाको ज्यान गएको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार आक्रमणमा महिला र बालबालिकासमेत परेका छन् भने दर्जनौँ घाइते भएका छन्। घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ तर उपचारका लागि आवश्यक औषधि र सामग्रीको अभाव रहेको बताइएको छ। हमासको सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिबार भएको पछिल्लो हमलामा मारिएकाहरुमध्ये महिला र बालबालिका पनि रहेका छन् । एजेन्सीले खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसिरहेका टेन्टहरूमा हेलिकोप्टरबाट आक्रमण गरिएको दाबी गरेको छ ।
प्रत्यक्षदर्शीहरूले बताए अनुसार गाजाका आवासीय क्षेत्र, शिविर र केही सार्वजनिक स्थानलाई लक्षित गर्दै आक्रमण गरिएको थियो। बम आक्रमणपछि धेरै घर भत्किएका छन् र मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ। उद्धार टोलीले जोखिमपूर्ण अवस्थाबीच खोज तथा उद्धार कार्य जारी राखेका छन्।
इजरायली सेनाले भने सुरक्षा कारण देखाउँदै हमाससँग सम्बन्धित लक्ष्यहरूमा कारबाही गरिएको दाबी गरेको छ। तर स्थानीय बासिन्दाले सर्वसाधारणमाथि आक्रमण बढ्दै गएको गुनासो गरेका छन्।
पछिल्लो घटनापछि गाजामा मानवीय अवस्था झनै गम्भीर बन्दै गएको छ। खाना, पानी, इन्धन र स्वास्थ्य सेवाको अभावले जनजीवन कठिन बनेको छ। संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय संस्थाले हिंसा रोक्न र नागरिकको सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे