
एजेन्सी । इजरायलले गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा २८ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आक्रमण सोमबार राति गरिएका थिए, जसमा सामान्य नागरिकको बस्ती लक्षित गरिएको थियो।
हवाई आक्रमणबाट घाइते भएकाहरूको संख्या अझै बढ्न सक्ने बताइएको छ। केहीको अवस्था गम्भीर रहेकोले मृतक संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ। स्थानीय अस्पतालहरूमा उपचारको चाप बढेको छ भने आपतकालीन सेवाहरू सक्रिय भएका छन्।
इजरायलले हमास लुकेर बसेको स्थानमा कारबाही गरेको दाबी गरे पनि स्थानीयहरूले सामान्य बासिन्दा र बालबालिका मारिएको बताएका छन्। गाजामा रहेका पत्रकारहरूका अनुसार, बम खसालिएका ठाउँहरूमा धुवाँको मुस्लो उठिरहेको देखिएको थियो।
युद्ध रोक्ने प्रयास भइरहेका बेला भएको यस आक्रमणले गम्भीर मानवीय संकट निम्त्याएको छ। संयुक्त राष्ट्रसंघ र मानव अधिकार समूहहरूले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
गाजा क्षेत्रमा जारी द्वन्द्वले बालबालिका, महिला र वृद्धवृद्धामाथि गहिरो असर पारेको छ। स्थानीय बासिन्दाहरू त्रसित छन् र सुरक्षित स्थानको खोजीमा छन्। हालसम्म इजरायल वा हमास दुबैले औपचारिक प्रतिक्रिया दिएका छैनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे