
काठमाडौं, ५ असार — परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण हालैका दिनमा तीव्र बनेको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाली नागरिकहरूलाई यात्रा सम्बन्धी चेतावनी (ट्राभल एडभाइजरी) जारी गरेको छ। मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै इजरायल, इरान तथा मध्यपूर्वका अन्य मुलुकहरूतर्फ भ्रमण, रोजगारी वा अन्य प्रयोजनका लागि जान चाहने नेपालीहरूलाई हालको जटिल अवस्थामा यात्रा नगर्न अनुरोध गरेको छ।
विशेषगरी इजरायल र इरानबीच विकसित तनावलाई नेपाल सरकारले नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। ती देशमा रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको जानकारी दिँदै, आवश्यक परेमा उनीहरूको हितमा उचित कदम चालिने पनि मन्त्रालयले जनाएको छ।
स्वेच्छाले नेपाल फर्किन चाहनेहरूका लागि हवाईमार्ग बन्द रहेकाले तेस्रो देश हुँदै फर्कनुपर्ने हुन सक्छ, जसका लागि ट्रान्जिट भिसाको आवश्यकता पर्न सक्ने मन्त्रालयले स्पष्ट पारेको छ।
इजरायल र इरानमा रहेका नेपालीहरूलाई आवश्यक बाहेक घर, बङ्कर वा सेल्टरबाट बाहिर ननिस्कन, इजरायली सरकारले जारी गरेका सुरक्षा निर्देशहरू कडाइका साथ पालना गर्न र नेपाली राजदूतावास तथा मन्त्रालयको सम्पर्कमा रहन पनि आग्रह गरिएको छ। संकटमा परेमा सहायताका लागि अनलाइन फारम भरेर दर्ता हुन समेत अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे