
मोसाद र आइडीएफको संयुक्त योजना अन्तर्गत इरानी भूमिमै तयार पारिएको अपरेसन
यरुशलम(एजेन्सी।) –इजरायलले इरानका आणविक तथा मिसाइल कार्यक्रममाथि आक्रमण गर्न वर्षौंदेखि योजनाबद्ध तयारी गरिरहेको खुलासा भएको छ। इजरायली सुरक्षा अधिकारीले The Times of Israel लाई दिएको जानकारीअनुसार, इजरायलको गुप्तचर संस्था मोसाद र सैनिक संस्था IDF (Israeli Defense Forces) को संयुक्त योजनामा आधारित रहि इरानमै घुसपैठ गरि सर्जिकल स्ट्राइक गरिएको हो।
स्रोतका अनुसार, तेहरान नजिकै इरानी भूमिमै ड्रोन बेस निर्माण गरिएको थियो, जहाँबाट इजरायली ड्रोनहरू सक्रिय गरिए। ती ड्रोनहरूबाट इजरायलतर्फ लक्षित इरानी सतह–देखि–सतह मिसाइल प्रक्षेपकहरूमा सटीक आक्रमण गरिएको थियो।
उक्त अपरेसनको दोस्रो चरणमा, सटीक निशानामा प्रहार गर्न सक्ने आधुनिक हतियार प्रणालीहरू इजरायलले इरानभित्रै तस्करीमार्फत पुर्याएको खुलासा भएको छ।
यी प्रणालीहरू प्रयोग गरी इरानी हवाई प्रतिरक्षा प्रणालीहरू नष्ट गरिए, जसले गर्दा इजरायली लडाकु विमानहरूले पूर्ण हवाई नियन्त्रण प्राप्त गरे।
तेस्रो र सबैभन्दा संवेदनशील चरणमा, मोसादका विशेष कमाण्डो टोलीहरूलाई इरानको केन्द्रिय भागमा पठाइएको थियो।
तिनीहरूले हवाई प्रतिरक्षा साइटहरू नजिकै सटीक मिसाइलहरू प्रक्षेपण गरे, जसले आक्रमणलाई अझ प्रभावकारी बनाएको अधिकारीको दाबी छ।
सुरक्षा अधिकारीका अनुसार, “स्थानीय गुप्तचरको आँखा छल्दै इरानकै केन्द्रमा प्रविष्ट भएर, उच्च प्रविधि, विशेष फोर्स र गुप्त एजेन्टहरू प्रयोग गर्दै गरिएको यो अपरेसन ऐतिहासिक सोच, साहसी योजना र प्रविधिको सटीक प्रयोगको नतिजा हो।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे