
काठमाडौं – इजरायलसँग युद्धविरामपछि पहिलोपटक सार्वजनिक रूपमा बोलेका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेर कुनै महत्वपूर्ण उपलब्धि हासिल नगरेको दाबी गरेका छन्।
उनका अनुसार यी आक्रमणहरूले इरानको आणविक योजनामा खासै क्षति पुर्याउन सकेनन्। खामेनीले अमेरिकी आक्रमणको प्रतिशोधस्वरूप कतारस्थित अमेरिकी हवाई अड्डामाथि गरिएको आक्रमणलाई “ठूलो प्रहार” भनेका छन्।
तर अमेरिकाले भने उक्त कारबाहीलाई ऐतिहासिक सफलता भन्दै इरानको आणविक महत्वाकांक्षामा गम्भीर असर पुर्याएको दाबी गरेको छ। अमेरिकी रक्षा सचिव पिट हेगसेथका अनुसार अमेरिका र इजरायलको गुप्तचरी रिपोर्टले इरानको कार्यक्रम वर्षौं पछाडि धकेलिएको देखाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक स्थलहरू “पूर्ण रूपमा ध्वस्त” भएको बताएका थिए। केही अमेरिकी अधिकारीहरूले क्षतिको स्तर अपेक्षा अनुसार नभएको रिपोर्टहरूप्रति असन्तोष व्यक्त गरेका थिए।
पेन्टागनमा वरिष्ठ जनरल डान केनसँगै पत्रकार सम्मेलनमा हेगसेथले भने, “यो अभियानले इरानका संवर्धन केन्द्रहरू निष्क्रिय पारेको छ,” र युरेनियम फोर्डोबाट बाहिर सारिएको कुनै प्रमाण फेला नपरेको उल्लेख गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे