
काठमाडौँ । इरानले संयुक्त राज्य अमेरिकासँग फेरि वार्ता गर्न तयार रहेको जनाएको छ। तर, वार्ता निष्पक्ष र बराबरीको आधारमा हुनुपर्ने र इरानको रक्षा क्षमता, विशेषगरी क्षेप्यास्त्र कार्यक्रम, त्यसमा समावेश गर्न नहुने इरानले स्पष्ट पारेको छ। इरानका विदेशमन्त्री अब्बास अराक्चीले शुक्रबार टर्कीको इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्ने योजना रहेको बताएका छन्। तर, त्यही समयमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा अर्को युद्धपोत पठाएको छ, जसले तनाव अझै बढाएको देखिन्छ। अमेरिकाको भनाइमा इरानसँग वार्ता पुनः सुरु गर्नका लागि उसको क्षेप्यास्त्र कार्यक्रम रोक्नुपर्ने मुख्य सर्त हो। तर इरानले यो माग अस्वीकार गर्दै आएको छ।
अराक्चीका अनुसार अहिले इरान र अमेरिका बीच औपचारिक वार्ताको कुनै तयारी भएको छैन। तर यदि वार्ता निष्पक्ष र दबाबरहित भयो भने इरान तयार छ। उनले इरान वार्ता र आवश्यक परे युद्ध दुवैका लागि तयार रहेको पनि बताए।
यसबीच टर्की, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सजस्ता क्षेत्रीय देशहरूले अमेरिका र इरानबीच सैन्य टकराव नहोस् भनेर कूटनीतिक प्रयास गरिरहेका छन्। इरानले क्षेत्रीय शान्ति र स्थिरताका लागि छिमेकी देशहरूसँग सहकार्य गर्न चाहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे