
काठमाडौं, ८ माघ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै २२ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो। यसमध्ये, १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, र मेरो सेयर अनलाइन प्लेटफर्ममार्फत दिन सकिन्छ। आईपीओ निष्काशनको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
नेपाल माइक्रो इन्स्योरेन्सले यस आईपीओमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लगानीको अवसर उपलब्ध गराउँदै देशको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे