
काठमाडौं, २८ फागुन ।नेपाल उद्योग वाणिज्य महासंघको पहल अन्तर्गत देशव्यापी रुपमा उद्यमी तथा व्यवसायीहरुको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै अहिले लगानी कम्पनी स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ । उक्त कम्पनीमा देशैभरका व्यक्ति तथा व्यवसायीले लगानी गर्ने अवसर प्राप्त गरेको प्रतिवेदनले उक्त लगानीलाई विभिन्न आयोजनामा उपयोग गर्ने जनाएको छ ।
कम्पनीको अधिकृत पुँजी रु. १० अर्ब हुनेछ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका गैरसदस्यहरुलाई समेत कम्पनीमा लगानी गर्न स्वागत रहेको पुष्टि गरेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभामा बल्दै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रबाट आवश्यक पहल गरिरहेको बताए । राजनीतिक दलको आर्थिक विषयमा समान एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासङ्घको आगामी चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने पनि उनको भनाइ छ ।
महासङ्घले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोशेढुङ्गा सावित भएको ढकालको दाबी छ । उक्त आर्थिक बहस आयोजनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे