
काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले ‘अपरेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
काठमाडौँ विमानस्थलबाट बेलुका ५.१२ मा उडान भरेको निगमको वाइडबडी जहाज ५.५५ मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । विमानमा चालकदलका सदस्यसहित २६० यात्रु सवार थिए ।
यसमा पर्यटनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणका कर्मचारी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
गौतमबुद्ध विमानस्थलमा अवतरण गरेपछि पानीको फोहराले जहाजलाई स्वागत गरिएको थियो । तत्पश्चात् आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु मुलुकका लागि ठूलो उपलब्धि हो भन्नुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिकरूपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको भूमिमध्ये काठमाडौँबाहेक अन्य भूमिमा पहिलोपटक वाइडबडी जहाज अवतरण गर्दैछ । नेपालको हवाई क्षेत्रको ७४ वर्षे इतिहासमा यो कोसेढुङ्गा भएको छ । अहिलेसम्म ठूला जहाज काठमाडौँमा मात्र उडान अवतरण गरिरहेका थिए ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे