
काठमाडौं–नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण (AML) र आतंककारी क्रियाकलापमा वित्तीय सहायता रोकथाम (CFT) सम्बन्धी नीति, रणनीति, प्रणाली र मापदण्डहरू तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
बीमा प्राधिकरणले बीमक संस्थाहरूका AML/CFT कार्यान्वयन अधिकारीहरूलाई लक्षित गरी आज काठमाडौंमा आयोजना गरेको दक्षता अभिवृद्धि कार्यक्रममा अध्यक्ष ओझाले उक्त निर्देशन दिएका हुन्। उनले बीमा क्षेत्रलाई सुरक्षित, पारदर्शी र कानूनी मापदण्डअनुकूल बनाउने उद्देश्यले आन्तरिक नियन्त्रण संरचना बलियो बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा अध्यक्ष ओझाले बीमा कम्पनीहरूले बीमा लिने व्यक्तिको आम्दानीको स्रोत, वित्तीय क्षमता, र बीमित सम्पत्तिको वैधानिकता प्रारम्भिक मूल्याङ्कनमै स्पष्ट गर्नु पर्ने आवश्यकता औंल्याए। उनले भनेका थिए कि बीमा, लघु बीमा र पुनर्बीमाका जोखिम फरक हुने भएकाले तिनको सही मूल्याङ्कन अपरिहार्य छ। जोखिम विश्लेषण, त्रुटि पहिचान र रोकथाम प्रणालीलाई सशक्त बनाउनेतर्फ बीमकहरूले ध्यान दिनु पर्ने उल्लेख गरिएको छ।
बीमा कम्पनीहरूको वर्तमान वित्तीय जोखिमाङ्कन प्रणालीलाई कमजोर ठहर गर्दै अध्यक्ष ओझाले जोखिम मूल्याङ्कनलाई सुदृढ पार्न, अवैध स्रोतबाट आउने रकमको पहिचान गर्न र अवरोध गर्न ठोस उपायहरू अपनाउन निर्देशन दिए। उनले सम्पत्ति शुद्धीकरणविरुद्धको अभियान राज्यको प्राथमिकता भएकाले बीमा क्षेत्रले पनि सोही अनुरूप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले कार्यक्रमको उद्देश्य बीमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्त पोषण विरुद्ध सशक्त बनाउन रहेको जानकारी दिए।
कार्यक्रममा सहभागी भएका वित्तीय जानकारी इकाईका प्रमुख वासुदेव भट्टराईले बीमा क्षेत्रमा विषयगत जोखिम पहिचान गरी नियन्त्रण संयन्त्रलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताए। उनले बीमा कम्पनीहरूले आन्तरिक जोखिम मूल्याङ्कन प्रणालीलाई सुधार गरेर सम्पत्ति शुद्धीकरण विरुद्धको अभियानमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे