
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरूलाई तोकिएको स्थान र क्षेत्रबाहिर सेवा सञ्चालन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले जारी गरेको सूचनामा, शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ अनुरूप स्वीकृति प्राप्त गरेका र नविकरण गरिएका संस्थाहरूले कानुनी दायराभित्र रहेर मात्र सेवा सञ्चालन गर्नुपर्ने स्पष्ट गरिएको छ।
मन्त्रालयका अनुसार, स्वदेश वा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श प्रदान गर्ने उद्देश्यले स्वीकृति लिएका कतिपय संस्थाहरूले अनुमति प्राप्त स्थानभन्दा बाहिर सेवा सञ्चालन गरिरहेको पाइएको छ। साथै, अनुमति प्राप्त नभएका स्थानमा शाखा विस्तार गरिएको जानकारी प्राप्त भएपछि मन्त्रालयले यस्तो कार्य रोक्न निर्देशन दिएको हो।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ को दफा १४ अनुसार, कुनै पनि संस्था अनुमति प्राप्त स्थान बाहेक अन्य ठाउँमा सेवा सञ्चालन गर्न नसक्ने व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ। निर्देशिका विपरीत कार्य गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द हुन सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबै शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरूलाई कानुनी प्रावधानभित्र रहेर मात्र सेवा प्रदान गर्न आग्रह गर्दै निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी दिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे