
काठमाडौं — नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने पहिलो नेपाली खेलाडी बनेकी छन्। मलेसियाविरुद्धको चौथो खेलमा उनले १५ रन बनाएपछि यो उपलब्धि हासिल गरिन्। इन्दुले ७७ खेल खेलेर यो कीर्तिमान बनाएकी हुन्। उनको करियरमा हालसम्म एक अर्धशतक छ, जुन सन् २०२१ मा कतारविरुद्ध ५५ रन बनाउँदा आएको हो। उनले अहिलेसम्म ७३ चौका र ३ छक्का प्रहार गरेकी छन्।
यस उपलब्धिसँगै उनी नेपालका लागि सबैभन्दा बढी रन बनाउने महिला खेलाडी बनेकी छन्। यसअघि सीता रानामगरले ९६५ रन र रुविना क्षेत्रीले ९१६ रन बनाएका थिए। इन्दु सन् २०११ देखि राष्ट्रिय टोलीमा खेल्दै आएकी हुन् र पछिल्ला ६ वर्षदेखि टी–२० अन्तर्राष्ट्रिय खेल्दै आएकी छन्। आजको जितपछि नेपाल र मलेसियाबीचको सिरिज २–२ को बराबरीमा पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे