
काठमाडौं । भारत सरकारले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले यसअघि ३९ युनियमात्र विद्युत् खरिद गर्दै आएको थियो ।
भारत सरकारको स्वीकृतिसँगै नेपालले थप ३२५ मेगावाट बिजुली भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बेच्न पाउने भएको छ ।
भारत सरकारले दिएको स्वीकृतिसँगै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित थप ३२५ मेगावाट बिजुली निर्यात गर्न ढोका खुलेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिइन् ।
नेपाल विद्युत् प्राधिकरणले गत कात्तिक १५ गते भारतीय ऊर्जा बजारमा वर्षायाममा देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको थियो ।
नेपालका नदीनालाको सतह बढेसँगै वर्षायाममा बिजुली उत्पादन बढी अर्थात् सरप्लस हुने गर्छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चारवटा जलविद्युत् आयोजनाबाट उत्पादन हुने ३२५ मेगावाट थप बिजुली वर्षायाममा भारत निर्यात गर्न बाटो खुलेको बताएका छन् ।
प्राधिकरणका अनुसार बर्खामा कालीगण्डकी जलविद्युत् आयोजनाको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेगावाट र लिखु जलविद्युत् आयोजनाकोे ५२ मेगावाट बिजुली भारतमा निर्यात गरिनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले वर्षायाममा अब भारतमा ३ सय ६४ मेगावाट बिजुली ढल्केबर मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट निर्यात गर्ने जानकारी दिए ।
त्यसअघि यो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाट बिजुलीमात्रै निर्यात गर्न पाइन्थ्यो । अहिले प्राधिकरणको सहायक कम्पनी र निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीबाट उत्पादित २१ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
वर्षाको समयमा नेपालमा अधिकतम बिजुलीको माग १९ सय मेगावाटभन्दा धेरै नहुने र चालु आवको अन्त्यसम्म थप दुई सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान हुने प्राधिकरणले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे