
भक्तपुर । सूर्यविनायक नगर अस्पतालमा अपरेसन थ्रिएटर सेवा शुभारम्भ भएको छ। बिहीबार अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. राकेश कुमार बर्माको टोलीलाई आवश्यक उपकरण हस्तान्तरण गर्दै सेवा सञ्चालन गरिएको हो।
अस्पतालका अनुसार डा. बर्मासहितको तीन जनाको टोलीले पहिलो दिनमै पोस्टेट समस्याबाट पीडित एक बिरामीको सफल शल्यक्रिया सम्पन्न गरिसकेको छ।
शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख सरिता तिमसिना भट्टराई, प्रमुख प्रशासनिक अधिकृत तारानाथ लुइँटेल, नगर प्रवक्ता रविन्द्र सापकोटा, १० वटै वडाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू तथा अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
नगर प्रमुख थापाले लामो प्रयासपछि अपरेसन थ्रिएटर सञ्चालनमा ल्याउन सकेकोमा खुसी व्यक्त गर्दै औपचारिक उद्घाटन नयाँ वर्षको पहिलो सातामा गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। अस्पताल सञ्चालन तथा सेवा विस्तारका क्रममा विभिन्न कठिनाइहरूको सामना गर्नुपरेको स्मरण गराउँदै उनले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताललाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नगर अस्पतालले स्थापना भएदेखि नै नगरवासीलाई उपचारमा १५ प्रतिशत छुटको व्यवस्था गर्दै आएको छ। साथै, स्वास्थ्य बीमा गराएका नगरबासीलाई थप छुट प्रदान गर्दै स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको मेयर थापाले जानकारी दिएका छन्।
बालमैत्री तथा अपांगमैत्री सुविधासहितको अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू–एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा, फार्मेसीलगायतका आवश्यक सबै सेवा २४ सै घन्टा सञ्चालन भइरहेका छन्। अस्पतालका अनुसार दैनिक करिब २५० जना बिरामीले ओपीडी सेवा लिने गरेका छन्।
अरनिको राजमार्गसँगै जोडिएको यो अस्पताल नगरवासीका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुलीलगायतका पूर्वी क्षेत्रबाट बिरामी आउने प्रमुख स्वास्थ्य केन्द्र बनेको छ। साथै, सडक दुर्घटनामा परेका बिरामीहरूका लागि समेत अस्पताल महत्वपूर्ण उपचार केन्द्रको रूपमा स्थापित भइसकेको छ।
२५ रोपनी क्षेत्रफलमा फैलिएको नगर अस्पतालको परिसर सफा र सुन्दर रहनुका साथै हरियाली वातावरणले सर्वसाधारणलाई आकर्षित गर्ने गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे