
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रोत्साहन गर्न विभिन्न कर छुटको व्यवस्था गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस सम्बन्धमा जानकारी दिए ।
आईटी उद्योगलाई विशेष सुविधा
नयाँ बजेट व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगको रूपमा आयकर र विद्युत महसुल छुट पाउने छन् । यसका साथै, सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिइनेछ ।
फ्रिलान्सरहरूका लागि कर सुविधा
सरकारले नेपालमै बसी विदेशमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने व्यक्तिहरूको आम्दानीमा पाँच प्रतिशतको स्थायी दरमा आयकर लाग्ने व्यवस्था गरेको छ । यो कर अन्तिम मानिनेछ, जसले गर्दा फ्रिलान्सरहरूले थप कर तिर्नु पर्ने छैन ।
यी नयाँ व्यवस्थाहरूले आईटी क्षेत्रको विकासलाई गति दिने र रोजगारी सृजना गर्न मद्दत पुग्ने सरकारले आशा व्यक्त गरेको छ ।
काठमाडौं । सरकारले कोल्ड स्टोरमा राखिने तथा फ्रोजन मिटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् यो निर्णय लिइएको हो ।
चोरी-तस्करी र उद्योगको संरक्षण
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फ्रोजन मिटमा भ्याट लाग्दा चोरी-तस्करी बढेको र आन्तरिक उद्योगहरू असर परेको बताएका छन् । यसले गर्दा स्थानीय उद्योग धरासायी हुने अवस्था आएपछि भ्याट खारेज गर्ने निर्णय लिइएको हो ।
पहिलेको व्यवस्थाले गर्दा समस्या
ताजा मासुमा भ्याट नलाग्ने तर डिप फ्रिजमा राखिएको मासु बिक्री नभएसम्म पनि भ्याटको दायरामा पर्ने व्यवस्थाले उद्योगलाई समस्या सिर्जना गरेको थियो । नयाँ नीतिले यस क्षेत्रका व्यवसायीहरूलाई राहत दिने अपेक्षा गरिएको छ ।
यो कदमले मासु उद्योगलाई प्रोत्साहन मिल्ने र कानुनी व्यवसायलाई बढावा दिने सरकारको लक्ष्य रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे