
काठमाडौँ, ८ फागुन ।न्याय पदयात्रामा सहभागी मिटर ब्याज काण्डका पीडित कारबाहीको माग गर्दै काठमाडौं जान लागेका छन् । उनीहरु हिजो धादिङको पिपल्टार पुगेर आज काठमाडौं प्रवेश गर्ने तयारीमा छन् । पैदल हिड्नेहरू सार्वजनिक स्थानमा बसेर खाना खाएर अघि बढिरहेका छन् ।
माघ १६ गते पर्ने शहीद दिवसमा उनीहरुले झापा र कञ्चनपुरबाट एकैसाथ यात्रा सुरु गरेका थिए । १७ दिनको पैदल यात्रापछि उनीहरु फागुन ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । त्यसपछि ती व्यक्ति काठमाडौं तर्फ लागे। मधेसका २० जिल्लाका साथै थप ८ जिल्लाका पीडितहरू अहिले न्याय पदयात्रामा सहभागी छन् । उनीहरुको मागमा नक्कली तमसुक र चेकलाई गैरकानूनी घोषणा गर्नुका साथै उनीहरुको नोक्सानीको क्षतिपूर्ति समेत समेटिएको छ ।
उनीहरुले यो समस्या समाधानका लागि न्यायिक आयोग गठनको पनि वकालत गरिरहेका छन् । यसअघि गत वर्ष चैत १२ गते मिटर ब्याज काण्डका पीडित महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए ।
धर्नामा, प्रदर्शन र पीडितको दबाबपछि सरकारले मिटर ब्याज पीडितको समस्या समाधान गर्न तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित छानबिन आयोगले गत मंसिरमा सरकारलाई सिफारिससहितको प्रतिवेदन बुझाएको थियो ।
आयोगले करिब २८ हजार उजुरी प्राप्त गरेको र तीमध्ये ५ हजारको समाधान गरेको छ । तर, मिटर ब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाका अनुसार उनीहरूका मुद्दा सम्बोधन गर्न गठित आयोग प्रभावकारी नभएको र सरकारले उनीहरूको चासोलाई बेवास्ता गरेको बताए। पैदल हिडेका पीडितहरु काठमाडौंको शान्तिवाटिकामा बस्न तयार भइरहेका छन् । अध्यक्ष कुशवाहाले सरकारले तीन वर्षदेखि आश्वासन दिए पनि माग पूरा गर्न नसकेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे