
काठमाडौं । काठमाडौं। पछिल्लो समय नेपालमा घरजग्गा कारोबारमा सुधार आएको देखिएको छ। व्यक्तिगत आवास कर्जा अर्थात होम लोन लिनेहरुको संख्या बृद्धि भएको छ, जसले घरजग्गा कारोबारमा सकारात्मक असर परेको छ। चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवास कर्जा शीर्षकमा कुल तीन खर्ब ९३ अर्ब ६० करोड १० लाख रुपैयाँ ऋण प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ। यो रकम गत वर्षको सोही अवधिसँग तुलना गर्दा २८ अर्ब ४० करोड रुपैयाँ बढी हो।
गत वर्षको भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवासका लागि तीन खर्ब ६५ अर्ब २० करोड १० लाख रुपैयाँ कर्जा उपलब्ध गराएका थिए। यसैगरी, चालू आर्थिक वर्षको भदौ मसान्तसम्म कुल कर्जा प्रवाह ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा तीन खर्ब १६ अर्ब २ करोड ७० लाख रुपैयाँ बढी हो।
वाणिज्य बैंकहरूले मात्र चालू वर्षको भदौ मसान्तसम्म ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो रकम गत वर्षको तुलनामा दुई खर्ब ७४ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बढी हो।
त्यस्तै, विकास बैंकहरूले पनि पछिल्लो अवधिमा व्यक्तिगत आवास शीर्षकमा ६२ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो रकम गत वर्षको तुलनामा दुई अर्ब ८४ करोड ९० लाख रुपैयाँ बढी हो। गत वर्ष भदौ मसान्तसम्म, विकास बैंकहरूले व्यक्तिगत आवास शीर्षकमा ५९ अर्ब ५५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
समग्रमा, व्यक्तिगत आवास कर्जा प्रवाहमा भएको वृद्धि घरजग्गा कारोबारमा सुधार आएको संकेत हो। यसले आगामी दिनहरूमा आर्थिक गतिविधिमा थप वृद्धि हुने सम्भावना रहेको विश्लेषण गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे