
काठमाडौँ – हाल देशभर पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भूभागमा आज दिउँसो अधिकांश समय बादल लाग्नेछ भने तराईका भूभागमा सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिमका केही भागमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौँमा आज विहानैदेखि हल्का वर्षा भइरहेको छ। वर्षा र हिमपात सम्भावित क्षेत्रमा यात्रा गर्ने र किसानहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे