
काठमाडौँ ।आ.ब २०८०/८१ ,नेपाल सरकारको अध्यागमन विभागले विदेशी नागरिकको प्रवेश, उपस्थिति तथा प्रस्थान नियमन गर्दै नेपाली नागरिकको आगमन–प्रस्थान व्यवस्थित गर्ने कार्य गर्दै आएको छ। तर, विभागले सङ्कलन गरेको राजस्वमा विद्युतीय प्रणाली र कोष दाखिला बीच असङ्गति देखिएको छ। झापा, वीरगन्ज, कञ्चनपुर, नेपालगन्ज, सिन्धुपाल्चोक, रसुवा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट रु. ३ करोड ७७ लाख ७५ हजार राजस्व सङ्कलन भएकोमा रु. ३ लाख ८४ हजार मात्र सरकारको राजस्व व्यवस्थापन प्रणालीमा दाखिला भएको देखिएको छ।
त्यस्तै, विराटनगर, कास्की, बेहलिया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रु. ४ अर्ब १० करोड १४ लाख १६ हजार विद्युतीय पोर्टलमा देखिएको रकमको साटो रु. ४ अर्ब १३ करोड ७८ लाख ५५ हजार सञ्चित कोषमा दाखिला भएको देखिएको छ। यसबाट कुल रु. ३ करोड ३४ लाख ३९ हजार असङ्गति देखिएको छ।
पदयात्रा व्यवस्थापनमा पनि चुनौती देखिएको छ। नमुना परीक्षण अनुसार नेपाली पोर्टमार्गबाट उपल्लो मुस्ताङ पदमार्गमा १ हजार ३, उपल्लो डोल्पा ९९, मुगु २० जना पदयात्रीबाट रु. ३ करोड १ लाख ९ हजार राजस्व सङ्कलन भए पनि विवरण मिलान नभएकोले वास्तविक राजस्व र दस्तुर सुनिश्चित गर्न कठिनाइ भएको छ।
भिसा स्टिकर अभिलेख व्यवस्थापनमा समेत कमजोरी देखिएको छ। २०७८/७९–२०८०/८१ सम्म २ हजार २८९ भिसा स्टिकर छपाइ भएकोमा कार्यालयगत अभिलेख राखिएको पाइएन। परराष्ट्र मन्त्रालयबाट मासिक विवरण प्राप्त नभएको तथा मौज्दातको सही अभिलेख अद्यावधिक नहुनुले राजस्व व्यवस्थापनमा चुनौती थपेको छ।
विशेषज्ञहरूले विद्युतीय प्रणाली र वास्तविक कोष दाखिला मेल गर्न, पदयात्रा दस्तुर र भिसा स्टिकर अभिलेख अद्यावधिक गर्न तत्काल सुधार आवश्यक रहेको सुझाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे