
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू केवल एउटा चुनाव जित्नका लागि होइन, देशको एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन्। उनले चितवनको चौबीसकोटीमा आयोजित सभामा बोल्दै यस्तो धारणा राखेका हुन्।
भैरहवा कारागारबाट रिहा भएको भोलिपल्टै चितवन पुगेका लामिछानेले अन्यायका विरुद्ध सधैं आवाज उठाउँदै आएको भन्दै चितवनबासीप्रति धन्यवाद व्यक्त गरे। उनले चितवनले आफूलाई मात्र नभई सिंगो देशलाई न्याय दिलाउने भूमिका खेल्ने विश्वास व्यक्त गरे।
लामिछानेले चितवनबाट नै अन्यायविरुद्ध आवाज उठ्ने गरेको उल्लेख गर्दै आफू त्यसैको जिम्मेवारी बोकेर अघि बढ्ने बताए। आफूमाथि भएको अन्यायबारे बोल्दै उनले व्यक्तिगत पीडाभन्दा देश र भावी पुस्ताले भोगेको पीडा ठूलो भएको बताए। आफूलाई जेल हालियो, दुःख दिइयो भनेर गुनासो गर्नुको अर्थ नरहेको उनको भनाइ थियो। अब देश र पुस्तालाई दिएको दुःखको हिसाब खोजिनुपर्ने उनले बताए।
उनले युवापुस्ताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै जेन–जी पुस्ताको संघर्ष खेर जान नदिने स्पष्ट पारे। साथै, बदला लिने राजनीति नगर्ने पनि उनले बताए।
चौबीसकोटीलाई ऐतिहासिक स्थल बताउँदै लामिछानेले यहीँबाट देशका लागि न्यायको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे। सभामा सहभागी समर्थकहरूले उनको भनाइलाई समर्थन गर्दै स्वागत गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे