
काठमाडौँ , २४ कात्तिक | डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कंदा खुसीको सीमा थिएन। जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो।
विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो। ५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा मंगलबार बेलुकी मात्रै घर आइपुगेका थिए।
बालबालिकासहित खाना खाएर सुतेका बेला राति आएको भूकम्पले घर भत्किँदा उनका पति प्रेम, छोरी तुल्सीसहित उनी च्यापिइन्। छोरी र पतिको भने घटनास्थलमै मृत्यु भयो। माथिबाट खसेको भकारीले छोपिँदा आफ्नो ज्यान बचेको बताउँदै उनले भनिन्, ‘खाना खाएर सबै सुत्न गयौं, छोरी तुल्सी, पति र म एउटा घरमा सुत्यौं भने सासू खिना, छोरा बलबहादुर र अर्की छोरी चन्द्रा पुरानो घरमा सुत्न गए। भूकम्पले भने पुरानो घर जोगियो, हामी सुतेको नयाँ घर भत्कियो।’
पति र छोरी छेउमै पुरिँदा आफू भने कराउँदै गुहार मागिरहेको बताउँदै उनले भनिन्, ‘म करिब एक घन्टासम्म गुहारिरहें। पछि गाउँले आएर मलाई निकाले। पति र छोरी भने पुरेको पुरियै रहे।’ एउटै कोठामा रहेका पति र छोरीको मृत्यु भएपछि बाँच्न सफल उनी विछिप्त बनेकी छन्। ‘पति मर्नुभन्दा म मरेको भए छोराछोरी र सासू त पाल्नुहुन्थ्यो’, उनले भनिन्, ‘यस्तो दशा कसैलाई नलागोस्।’ आजको नागरिक दैैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे