
नेपाल पेन्ट्समा आत्मनिर्भर हुँदै गएको छ । पेन्टस् उद्योगहरूले पेन्टस् बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सार दर ५ प्रतिशतमा घटाउन माग गरेका छन् ।
पेन्टस् उद्योग संघले तयारी वस्तु र कच्चा पदार्थको मूल्य एउटै भएको भन्दै पेन्टस् बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सार दर ५ प्रतिशतमा घटाउन माग गरेका हुन । नेपाल पेन्टस् उद्योग संघका अध्यक्ष विश्व प्रकाश साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर भइसकेको भएपनि कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कले उद्योग सञ्चालनमा समेत समस्या भएको बताए ।
उनले सरकारले भन्सार शुल्क ३० प्रतिशत लगाउँदा बजारमा उपभोक्ताले मूल्य वृद्धिको मार खेप्नु परेको बताए । साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर हुँदै गएकाले विदेशबाट आउने तयारी पेन्ट्समा काउन्टर भेलिङ शुल्क लगाउन सुझाव दिए ।
उनले पेन्टसका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा तयारी उत्पादनकै वस्तु सरह भन्सार महसुल लाग्ने गरेको बताए ।
अध्यक्ष साःखले सरकारले ३० प्रतिशतसम्म भन्सार, ७ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा उद्योगीलाई बाँच्न अप्ठ्यारो परेको बताए । पेन्टस् उद्योगीहरुले एक्रिलिक पोलिमरमा श्रीलंका, बंगलादेश, भारतजस्ता छिमेकी मुलुकमा १० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गरिएकोमा नेपालमा बढी रहेको बताएका छन् ।
पेन्ट उद्योगहरूले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११ मा आयात गर्ने गरेको हुँदा एचएसएन कोड सच्याउन समेत माग गरेको छ । नेपालमा पेन्ट्सको वार्षिक कारोबार २० अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये आयातितको हिस्सा भने करिब दुई अर्ब रुपैयाँ हाराहारी रहेको अनुमान छ ।
नेपालमा अहिले करिब ४० वटा पेन्ट्स कम्पनी छन् । आधा दर्जन विदेशी कम्पनीले नेपालकै बजारमा सेवा दिइरहेका छन् । बजारको माग र आवश्यकताले कारोबार पनि बढ्दै गएको छ ।
अहिले व्यक्तिगत घर, कोठा, अपार्टमेन्ट, हाउजिङ, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसदेखि सार्वजनिक निर्माणमा आकर्षक रङको प्रयोग हुन थालेको छ । ग्राहकको आवश्यकता र चाहनाअनुसार यसको प्रयोग हुन्छ । नेपालमा रङको प्रयोग बढेकै कारण भारतबाट मात्रै वार्षिक करिब दुई अर्ब रुपैयाँभन्दा बढीकोे इनामेल आयात हुन्छ ।
हाल बजारमा स्थापित पेन्ट्स ब्रान्डमा पशुपति पेन्ट्स, एसियन पेन्ट्स, शालिमार पेन्ट्स, बर्जर पेन्ट्स, इन्डिगो पेन्ट्स, अपोलो पेन्ट्स, बाबा पेन्ट्स छन् । महालक्ष्मी पेन्ट्स, डालिमा पेन्ट्स, जस्मिन पेन्ट्स, यती पेन्ट्स, रिलायन्स पेन्ट्स , तिरुपति बालाजी पेन्ट्ससहितका ब्रान्डले आफ्नो छुट्टै पहिचान बनाएका छन् । यीबाहेक दुई दर्जन पेन्ट्स बजारमा छन् ।
पछिल्लो समय नेपालमा उत्पादन भएकै रङले माग धान्न सक्ने अवस्था भए पनि बाहिरबाट भित्रिने नयाँ ब्रान्ड पनि रोकिएका छैनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे