
एजेन्सी । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा एक दर्दनाक हवाइ दुर्घटना भएको छ। केदारनाथ धाम जाँदै गरेको आर्यन एभिएसन कम्पनीको हेलिकप्टर आज बिहान दुर्घटनामा पर्दा एक शिशुसहित ७ जनाको ज्यान गएको छ। हेलिकप्टर केदारनाथबाट गुप्तकाशीतर्फ फर्कंदै गर्दा बिहान करिब ५स्३० बजे गौरीकुण्ड क्षेत्रको गौरीमाई खार्क नजिकको जंगलमा खसेको हो। मौसम एक्कासी बिग्रिएपछि पाइलटले हेलिकप्टरलाई सुरक्षित स्थानमा लैजान खोज्दा दुर्घटना भएको प्रारम्भिक रिपोर्ट आएको छ।
दुर्घटनामा मृतकहरूमा पाँच जना तीर्थयात्री, एक पाइलट र एक शिशु रहेको पुष्टि भएको छ। जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारका अनुसार, घटनास्थलमा रहेका नेपाली मूलका महिलाहरूले घाँस काट्ने क्रममा हेलिकप्टर खसेको देखेपछि जानकारी दिएका थिए। हाल एनडीआरएफ, एसडीआरएफ, प्रहरी र स्थानीय बासिन्दा घटनास्थलमा छन् र खोज तथा उद्धार कार्य जारी छ। पर्यटन तथा हेली सेवा नोडल अधिकारी राहुल चौबेले हेलिकप्टर बिहानै सम्पर्कविहीन भएको जानकारी दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे