
काठमाडौँ । मंगलबार रातिदेखि देशका हिमाली र पहाडी जिल्लामा बाक्लो हिमपात भएको छ। मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, बाजुरा, बैतडी र बागलुङलगायत जिल्लाका डाँडाकाँडा सेताम्य भएका छन्। कतिपय स्थानमा वर्षासमेत भएको छ।
मुस्ताङमा धेरै हिउँ परेपछि कागबेनी–कोरला सडक बन्द भएको छ। केही ठाउँमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। हिउँ परेपछि स्याउ, आलु, जौ, फापरजस्ता बाली राम्रो हुने आशा किसानहरूले गरेका छन्।
कर्णालीका हिमाली जिल्लामा पनि लगातार हिमपात भइरहेको छ। हुम्लाको सदरमुकाम सिमकोटसहित माथिल्लो भेगमा करिब एक फिट हिउँ जमेको छ। हिउँ परेका कारण जहाज उड्न सकेका छैनन् भने लिमी, यारी र हिल्सातर्फ जाने सडक बन्द भएका छन्।
बाजुराका लेकाली क्षेत्रहरूमा पनि बाक्लो हिमपात हुँदा स्थानीयको दैनिक जीवन प्रभावित भएको छ। तर वर्षासहितको हिउँले गहुँजस्ता हिउँदे बाली राम्रो हुने कृषि कार्यालयले जनाएको छ।
बैतडी र बागलुङका उच्च पहाडमा पनि धेरै हिउँ परेको छ। ढोरपाटन क्षेत्र पूरै सेतो देखिएको छ। अत्यधिक चिसो बढेपछि हिँडडुल गर्न गाह्रो भए पनि किसानहरू बाली सप्रनेमा खुसी देखिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे