
काठमाडौँ — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा केही उत्तरतिर सक्रिय छ। कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश र अन्य पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भेगका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।
आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य ठाउँमा आंशिक बदली रहनेछ। ती प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुनसक्छ। मधेस, वाग्मती र गण्डकीका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको बताउँदै, तराई र शहरी क्षेत्रमा डुबानको सम्भावनासमेत रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। नदी, सडक, स्वास्थ्य, पर्यटन र हवाई यातायातमा असर पर्न सक्ने भन्दै पूर्वतयारी गर्न सबैलाई अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे