
काठमाडौँ , २१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार, हाल नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेपछि सार्वजनिक स्वास्थ्यको सुरक्षा लागि ध्यान दिन अनुरोध गरिएको हो। एयर क्वालिटी इन्डेक्स (एक्युआई) मापनअनुसार, काठमाडौँमा वायु प्रदूषणको स्तर तीन सय ४८ एक्यूआई पुगेको छ, जसले ‘खतरनाक’ श्रेणीमा पर्ने संकेत गर्छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, एलर्जी, हृदय रोग लगायत दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुनसक्ने चेतावनी दिएका छन्। विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलाहरू र दीर्घरोगीलाई अतिरिक्त सतर्कता अपनाउन सुझाव दिइएको छ।
स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रहरूमा नजान अनुरोध गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले वन डढेलो, सडक निर्माण र आऔद्योगिक क्रियाकलापका कारण प्रदूषण बढिरहेको उल्लेख गर्दै, वायु प्रदूषण न्यूनीकरणका लागि सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे