
बाँके ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले बाँकेको खजुरा र नेपालगञ्जमा रहेका दुई प्रमुख सरकारी अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। २०८२ माघ २६ गते मन्त्री शर्माले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र नेपालगञ्जस्थित भेरी अस्पतालको अवलोकन गर्दै अस्पतालहरूको भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र सेवा प्रवाहको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिनुभएको हो।
निरीक्षणका क्रममा मन्त्री शर्माले उपचाररत बिरामीहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्था तथा अस्पतालबाट प्राप्त सेवाको गुणस्तरबारे अन्तर्क्रिया गर्नुभयो। साथै, दुवै अस्पतालका प्रशासनिक तथा प्राविधिक पक्षको समग्र मूल्याङ्कन गर्दै सेवामा देखिएका चुनौती र सम्भावनाबारे जानकारी लिनुभयो।
सो अवसरमा भेरी अस्पतालका निर्देशक डा. निराजन सुवेदीले अस्पतालको वर्तमान अवस्था, बिरामीको बढ्दो चाप तथा सेवा सञ्चालनका क्रममा देखिएका प्रशासनिक र प्राविधिक चुनौतीबारे मन्त्रीज्यूलाई विस्तृत ब्रिफिङ गर्नुभएको थियो। छलफलका क्रममा अस्पताल प्रशासनले अति आवश्यक नयाँ सिटी स्क्यान (CT-Scan) मेसिनको व्यवस्था तथा निर्माणाधीन भवनहरूको शीघ्र व्यवस्थापनका लागि मन्त्रालयबाट पहल गरिदिन आग्रह गरेको थियो। यस्तै, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल प्रशासनले पनि कर्मचारी पदपूर्ति, पूर्वाधार व्यवस्थापन र अस्पताल सुदृढीकरणका विषयमा मन्त्रालयको सहयोग आवश्यक रहेको बताएको थियो।
प्रतिक्रियास्वरूप मन्त्री शर्माले भेरी अस्पताललाई यस क्षेत्रकै महत्वपूर्ण ‘रेफरल सेन्टर’ का रूपमा रहेको उल्लेख गर्दै सिटी स्क्यानलगायत अत्यावश्यक उपकरणको व्यवस्था, जनशक्ति व्यवस्थापन र पूर्वाधार सुदृढीकरणका लागि मन्त्रालयले आवश्यक बजेट र नीतिगत समन्वयमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विशिष्टीकृत क्यान्सर उपचार केन्द्रका रूपमा विकास गर्न मन्त्रालय निरन्तर क्रियाशील रहने उहाँले स्पष्ट पार्नुभयो।
मन्त्री शर्माले दुवै अस्पतालको सेवा विस्तार र गुणस्तर अभिवृद्धि सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीच सहकार्यलाई थप सुदृढ गरिने बताउनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे