
काठमाडौं, जेठ २९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरुवा भएर पनि हाजिर नभएका संघीय अस्पताल तथा मातहतका निकायमा कार्यरत कर्मचारीलाई तीन दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ। तय गरिएको समयसीमाभित्र हाजिर नगराए विभागीय कारबाहीसहित सेवा–सुविधावापतको रकम असुल उपर गरिने चेतावनी मन्त्रालयले दिएको छ।
सरुवा भएर पनि हाजिर नगरिएका तथा आफ्नै दरबन्दीभन्दा बाहिर ‘काज’मा लामो समय कार्यरत कर्मचारीसम्बन्धी गुनासो बढेसँगै मन्त्रालयले कडा कदम चालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशनअनुसार, मन्त्रालयले सम्बन्धित निकायहरूलाई तीन दिनभित्र हाजिर गराउने व्यवस्था मिलाउन पत्र पठाएको हो।
त्यसअनुसार, मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहत कार्यालयहरूमा सचिवस्तरीय निर्णयअनुसारको पत्र पठाउँदै हाजिर नगराउने कर्मचारीमाथि विभागीय कारबाही गर्नेसमेत उल्लेख गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, स्पष्ट निर्देशन उल्लङ्घन गरेमा कडा अनुशासनात्मक कारबाही हुनेछ। “दायित्व तोकिएको स्थानमा कार्य नगर्ने प्रवृत्तिले सेवा प्रवाहमा असर पुर्याइरहेको छ, अब यस्तो सह्य हुनेछैन,” उनले भने।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे