
काठमाडौं । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी माननीय मन्त्री डा. सुधा शर्मा गौतमले आज नेपालमा कार्यरत प्रमुख द्विपक्षीय सहयोगी संस्थाका प्रतिनिधिहरूसँग शिष्टाचार भेट गर्नुभयो । स्वास्थ्य प्रणाली बलियो बनाउन सहयोगी देशहरूको निरन्तर सहयोग महत्त्वपूर्ण रहेको भन्दै मन्त्रीले सहभागी प्रतिनिधिहरूलाई आभार व्यक्त गर्नुभयो ।
यो शिष्टाचार भेटमा अमेरिका, जर्मनी, बेलायत, जापान (जाइका) र कोरिया (कोइका) का नेपालमा रहेका प्रतिनिधिहरू सहभागी भएका थिए । अमेरिकी दूतावासका प्याट्रिक एस गान र नुर पन्त, जर्मन दूतावासका बेन्जामिन साइडेल र जान डिर्क्सेन, बेलायती दूतावासका डिएगो मोरोसो र डा. दीपक कार्की, जाइकाका मिजुकी मात्सुजाकी र कृष्णप्रसाद लम्सल र कोइकाका श्रीमती श्रृष्टि चित्रकार र मिलन महाराज उपस्थित रहेका थिए ।
मन्त्री शर्मा गौतमले आमा तथा बच्चाको स्वास्थ्य, मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य बीमा कार्यक्रम सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता बढाउने र विदेशमा काम गर्न गएका नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई मन्त्रालयका प्रमुख प्राथमिकताका रूपमा राखेको बताउनुभयो ।
यसै अवसरमा सहयोगी संस्थाका प्रतिनिधिहरूले नेपाल सरकारले स्वास्थ्य क्षेत्रका लागि राखेका प्राथमिकतामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै दिगो स्वास्थ्य प्रणाली विकासका लागि सहकार्य बढाउने आश्वासन दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे