
काठमाडौं । हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल बनाउन देशभरका नागरिकलाई श्रमदान गर्न आह्वान गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद साम्पाङले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै पुल निर्माणको तयारी सुरु गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार पुल बनाउने ठाउँको भौगोलिक अवस्था र प्राविधिक जानकारी बुझ्नका लागि अग्रिम टोली दार्चुलातर्फ पठाइसकिएको छ। टोलीले वास्तविक अवस्था बुझेर जानकारी दिएपछि आफू पनि निर्माण स्थलमा पुग्ने उनले बताएका छन्।
साम्पाङका अनुसार उक्त ठाउँमा मोटर बाटो नभएकाले डोजर, क्रसर वा अन्य भारी मेसिनरी लैजान सम्भव छैन। साथै त्यहाँ बिजुलीको सुविधा पनि नभएकाले ड्रिल मेसिन प्रयोग गर्न सकिँदैन। त्यसैले पुल निर्माणको काम मुख्य रूपमा श्रमदानमार्फत हातैले गर्नुपर्ने उनले बताएका छन्।
श्रमदानमा जानेहरूले घन, मार्तोल, बेल्चा, गैँती जस्ता उपकरण प्रयोग गरेर ढुङ्गा फुटाउने र बाटो बनाउने काम गर्नुपर्नेछ। उनले यो काम पूरा गर्न करिब १५ देखि २० दिन लाग्न सक्ने बताए। साथै इच्छुक सहयोगीहरूलाई कम्तीमा १० रुपैयाँदेखि सकेजति आर्थिक सहयोग गर्न पनि उनले आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे