
एजेन्सी। अलिबाबा समूहले पेटको क्यान्सर (ग्यास्ट्रिक क्यान्सर)लाई प्रारम्भिक अवस्थामा नै पत्ता लगाउने नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली “ग्रेप” सार्वजनिक गरेको छ। यस प्रविधिले सीटी स्क्यानको प्रयोग गरी क्यान्सरको चिन्हहरू पत्ता लगाउँछ, जसले गर्दा पीडादायक एन्डोस्कोपी परीक्षण नगरिकनै निदान गर्न सकिने विश्वास गरिएको छ।
प्रख्यात विज्ञान पत्रिका न्यचुरल मेडिसिन (Nature Medicine )मा प्रकाशित अध्ययन अनुसार,ग्रेप प्रणालीले ८५.१% संवेदनशीलता र ९६.८% विशिष्टता हासिल गरेको छ। यसले प्रारम्भिक अवस्थाको क्यान्सर पत्ता लगाउन मानिसले गर्ने रेडियोलोजी विश्लेषणभन्दा २०% बढी सक्षम देखिएको छ। यो प्रविधिले पेटको क्यान्सरजस्तो धेरै मानिसको मृत्यु हुने रोगको निदानमा ठूलो सुधार ल्याएको छ।
चीनको झेजियाङ र आन्हुई प्रान्तहरूमा यसको ठूलो पैमानामा परीक्षण गरिने तयारी छ। अलिबाबाले यसअघि प्यान्क्रियाजको क्यान्सर पत्ता लगाउने एआई प्रणाली विकास गरिसकेको थियो। “ग्रेप” प्रणालीले चीनमा दोस्रो सबैभन्दा धेरै हुने पेटको क्यान्सरको निदानमा क्रान्तिकारी परिवर्तन ल्याउने आशा गरिएको छ।
यस प्रविधिले न केवल चाँडै रोग पत्ता लगाएर उपचार सुरु गर्न मद्दत गर्छ, तर स्वास्थ्य सेवामा पर्ने दबाव पनि घटाउने अपेक्षा छ। विशेषज्ञहरूका अनुसार, यसले विश्वभर क्यान्सर पत्ता लगाउने तरिकामा नै ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना राख्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे