
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) वा भोलि (मंगलबार) सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ र आज साँझ ५ बजे बस्ने बोर्ड बैठकले नतिजा प्रकाशनको निर्णय लिन सक्नेछ।
बोर्डले आइतबार पनि बैठक बसेर सदस्यहरुलाई नतिजा प्रकाशनको तयारीबारे ब्रिफिङ गरेको थियो। यदि सबै प्रक्रिया समयमै पूरा भयो भने आजै नतिजा सार्वजनिक हुने छ, नत्रमा भोलिसम्ममा प्रकाशित हुने बोर्डले जनाएको छ।
गत वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी थिए। देशभरका ५ हजार २ सय २ विद्यालयका विद्यार्थीहरूका लागि १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको थियो।
विदेशस्थित जापानको एभरेस्ट स्कुलबाट पनि ३८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जिल्लागत रूपमा मनाङबाट ४५ जना र काठमाडौंबाट सबैभन्दा धेरै ६८ हजार परीक्षार्थीले परीक्षा दिएका थिए। काठमाडौंमा १६२ परीक्षा केन्द्र थिए भने मनाङ र मुस्ताङमा १/१ केन्द्र सञ्चालन गरिएको थियो।
शिक्षक आन्दोलनका कारण परीक्षा १० दिन ढिलो भएर जेठ २ गते सम्पन्न भएको थियो। त्यसपछि उत्तरपुस्तिका परीक्षण कार्य तीव्र गतिमा अघि बढाइएको हो।
‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार, प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएसम्म विद्यार्थीलाई ग्रेड दिइँदैन। गत वर्ष कक्षा १२ मा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङ पद्धतिमा उत्तीर्ण भएका थिए।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले बोर्डको वेबसाइट र एसएमएस सेवा मार्फत नतिजा हेर्न सक्ने छन्। बोर्डले नतिजा सार्वजनिक गर्नेबित्तिकै आधिकारिक सूचना प्रकाशन गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे