
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरिसकेको छ। मंगलबार बिहान बसेको बोर्ड बैठकले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन गर्ने निष्कर्ष निकालेको हो।
हाल शिक्षकहरू शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत छन्। आन्दोलनका कारण शैक्षिक हडताल हुँदै आएको छ, जसका कारण परीक्षा नियमितरूपमा सञ्चालन हुने वा स्थगित हुने भन्नेमा अन्योलको स्थिति देखिएको थियो। यद्यपि, बोर्डले विद्यमान परिस्थितिलाई विचार गर्दा पनि परीक्षा स्थगन नगर्ने निर्णय लिएको जनाएको छ।
बैठकपछि बोर्डले देशभर रहेका परीक्षा समन्वय समितिहरूलाई निर्देशन पठाउँदै परीक्षा केन्द्र भएका विद्यालयहरूलाई पूर्वतयारीमा लाग्न आग्रह गरिसकेको छ। साथै, परीक्षा सञ्चालनमा कुनै किसिमको अवरोध नआओस् भन्नेसाथ, सम्बन्धित सबै निकाय तथा सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्न पनि आग्रह गरिएको छ।
बोर्डले विद्यार्थीहरूको शैक्षिक भविष्यमा असर नपरोस् भन्ने उद्देश्यले परीक्षा नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरेको जनाएको छ। यस्तै, बोर्डले परीक्षा व्यवस्थापनमा कडाइका साथ कार्यान्वयन हुने व्यवस्था मिलाउने तयारीसमेत गरेको स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे