
काठमाण्डौ। एनएमबी बैंक लिमिटेडले वैशाख १० गतेदेखि प्रमुख कार्यकारी अधिकृतको रूपमा गोविन्द घिमिरेलाई नियुक्त गरेको छ। फागुन २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले घिमिरेलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो, जुन निर्णय वैशाख १० गतेदेखि लागू गरिएको थियो।
नयाँ सीईओ नियुक्त हुनु पूर्व घिमिरेले सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को जिम्मेवारी सम्हालेका थिए। बैंकका पूर्व सीईओ सुनील केसीको कार्यकाल वैशाख ९ मा समाप्त भएपछि नेतृत्व हस्तान्तरण गरिएको हो।
बैंकले यसै क्रममा हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गर्ने निर्णय पनि गरिसकेको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म (साउनदेखि चैतसम्म) एनएमबी बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.८ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो।
नाफाको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) पनि बढेको देखिएको छ। अघिल्लो वर्ष १६.२७ रुपैयाँ रहेको वार्षिक EPS हाल १७.२३ रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको ५ अर्ब ४४ करोड रुपैयाँबाट वृद्धि भएर हाल ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
वित्तीय सूचकांक सकारात्मक देखिए पनि इम्पेयरमेन्ट चार्ज (Loan Loss Provision) मा भने उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो वर्ष ८० करोड रुपैयाँ रहेको यो रकम हाल १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको निष्क्रिय कर्जा (NPL) पनि २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ।
हाल बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ रहेको छ भने आधार दर (Base Rate) ९.१५ प्रतिशतबाट घटेर ६.४९ प्रतिशतमा झरेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे