
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। बुधबार सार्वजनिक विवरणअनुसार उनले सूचिकृत कम्पनीहरूको सेयरमा मात्रै करिब १४ करोड रुपैयाँ लगानी गरेका छन्।
गभर्नर पौडेलले आफू र पत्नी प्रतिभा शर्माको नाममा सेयर खरिद गरेका छन्। पछिल्ला गभर्नरहरूसँग तुलना गर्दा उनले जग्गाजमिनभन्दा वित्तीय क्षेत्र (सेयर) मा लगानी बढी गरेको देखिन्छ।
सम्पत्ति विवरणअनुसार गभर्नर पौडेलको बैंक खातामा २७ लाख रुपैयाँ बचत रहेको छ। ललितपुर महानगरपालिका–४, भैसेपाटीमा पत्नीको नाममा रहेको ५ आना २ दामको जग्गामा बनेको २,७९५ वर्गफिटको घर रु १ करोड ५५ लाख मा खरिद गरिएको उल्लेख छ। उक्त सम्पत्तिको स्रोत पैतृक तथा स्वआर्जन उल्लेख गरिएको छ।
गभर्नर पौडेलसँग ४५ तोला सुन र १५ लाख बराबरको हिरा रहेको छ। विवरणमा सुनलाई पैतृक सम्पत्ति र हिरालाई स्वआर्जन भनिएको छ।
बचत विवरणअनुसार गभर्नर पौडेल तथा उनकी पत्नीको नाममा विभिन्न बैंकमा गरी रु २० लाख ६८ हजार जम्मा रकम रहेको छ। उनले सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंक मा खाताहरू रहेको उल्लेख गरेका छन्।
त्यसैगरी, गभर्नर पौडेलको नाममा अमेरिकी डलर खातामा ६६ अमेरिकी डलर रहेको छ भने पत्नीको खातामा ४,४६६ अमेरिकी डलर रहेको उल्लेख छ।
गभर्नर पौडेलले यसअघि नै सार्वजनिक सेवा पारदर्शिताको पक्षमा वकालत गर्दै आएका थिए। यो सम्पत्ति विवरण सार्वजनिक गर्नु उनले सोही सन्देशलाई व्यवहारमा उतारेको सङ्केतका रूपमा लिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे