
काठमाडौँ । सरकारले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि फेरि थप गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई काम पूरा गर्न थप २५ दिन समय दिने निर्णय गरेको हो।
यसअघि आयोगको म्याद दुई पटक बढाइसकिएको थियो र पछिल्लो म्याद माघ २८ गते सकिन लागेको थियो। सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको वास्तविक अवस्था पत्ता लगाउन समय थप गरिएको जनाएको छ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आन्दोलनका क्रममा भएका घटना, क्षति र त्यसको जिम्मेवारीबारे विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन आयोगलाई थप समय आवश्यक परेको हो। सरकारले २०८२ असोज ५ गते विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई सुरुमा तीन महिनाभित्र काम सक्ने जिम्मेवारी दिइएको थियो।
तर तोकिएको समयमै छानबिन पूरा गर्न नसकेपछि सरकारले पहिलो पटक पुस ८ गते एक महिनाको म्याद थप गर्यो। त्यसपछि माघ ८ गते २० दिन थपिए पनि प्रतिवेदन नआएकाले सरकारले तेस्रो पटक २५ दिन म्याद थप गरेको हो।
सरकारले आयोगको प्रतिवेदनपछि आवश्यक निर्णय र कारबाही गरिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे