
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाको कार्यसमय तथा विदा तालिकामा महत्वपूर्ण परिवर्तन गरेको छ। सरकारले अबदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेबाट अपराह्न ५ बजेसम्म सञ्चालन हुने निर्णय गरेको छ।
बैठकको निर्णयअनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएका असुविधालाई मध्यनजर गर्दै चैत २३ गतेदेखि शनिबार र आइतबार सरकारी कार्यालय तथा विद्यालयहरू बन्द हुने व्यवस्था लागू हुनेछ। यसअघि कात्तिकदेखि माघसम्म सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजे र अन्य समय बिहान १० बजेदेखि ५ बजे सञ्चालन हुँदै आएका थिए।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताको कारण सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय भएको छ। शैक्षिक संस्था बाहेकका कार्यालयहरूमा कार्यालय समय बिहान ९ बजेबाट अपराह्न ५ बजे कायम रहनेछ।’
सरकारको नयाँ व्यवस्था सार्वजनिक भएपछि कर्मचारी र विद्यालय संचालकहरूले कार्यतालिका अनुसार योजना मिलाउन सुरु गरेका छन्। यस कदमलाई आम जनताको सुविधा र कार्यालय व्यवस्थापनमा सुधारको पहलका रूपमा लिइएको छ।
सरकारी निर्णयपछि नागरिकहरूले पनि कार्यसमय र विदा दिनको परिवर्तनबारे सजिलै जानकारी पाउन सक्ने भएकोले सेवाग्राहीहरूको सुविधा सुनिश्चित हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे