
काठमाडौँ, २० बैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन धरापमा पर्न सक्ने चेतावनी दिएका छन् ।
विरेन्द्रनगर पुगेका नेपालले पत्रकार सम्मेलनमा बोल्दै गठबन्धन टिकाउन सबैलाई सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘बजेट बाँडफाँट गर्ने अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ठान्ने! खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित छन्। दम्भ र घमण्डले रावण जन्मायो। प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादीका नेताहरूले दम्भ र घमण्ड गर्न सुहाउँदैन। सबैलाई समानताको व्यवहार गरेर अगाडि बढ्नुपर्छ।’
नेता नेपालले एमाले अध्यक्ष केपी ओलीले घमन्ड गर्दा दुई तिहाइ बहुमतको सरकार ढलेर पार्टी छिन्नभिन्न भएको, शेरबहादुरले घमन्ड गर्दा सरकारको नेतृत्वबाट बाहिरिनुपरेको र प्रचण्डले घमन्ड गर्ने हो भने त्यसै हुन बेर नलाग्ने दाबी गरे।
कर्णालीमा आफ्नो पार्टीलाई पुरै बेवास्ता गरेको टिप्पणी गर्दै सरकार एकलौटी गर्न खोजेको समेत उनको आरोप थियो । अध्यक्ष नेपालले सत्तागठबन्धनले देश र जनताको पक्षमा काममा ध्यान दिनुपर्नेमा जोड दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे