
काठमाडौँ। सरकारले अब बाँस प्रयोग गरेर घर र भवन निर्माण गर्न स्पष्ट मार्गदर्शन तयार पारेर स्वीकृत गरेको छ। उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ‘बाँस संरचना डिजाइन मार्गदर्शन–२०८२’ स्वीकृत गर्नुभएको हो।यो मार्गदर्शनले बाँसलाई किफायती, दिगो र वातावरणमैत्री निर्माण सामग्रीको रूपमा प्रयोग गर्दै एकदेखि दुई तले आवासीय, साना व्यवसायिक र औद्योगिक भवन निर्माणलाई व्यवस्थित बनाउने निर्देश दिएको छ।
शहरी विकास मन्त्रालयले यसलाई कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा छिट्टै परिपत्र पठाउने तयारी गरेको छ।मन्त्री घिसिङका अनुसार, स्टील र कंक्रिटमा आधारित महँगो निर्माण प्रविधि ग्रामीण क्षेत्रमा सहज छैन, त्यसैले स्थानीय रूपमा उपलब्ध बाँसलाई प्रयोग गर्न प्रोत्साहन दिन आवश्यक छ। बाँस प्रयोग गर्दा लागत कम हुने मात्र होइन, विपन्न परिवारले पनि टिकाउ घर बनाउन सक्नेछन्। बाँस छिटो बढ्ने वनस्पति भएकाले वातावरणमा पर्ने नकारात्मक प्रभाव पनि कम हुन्छ।
मार्गदर्शन तयार पार्दा अन्तर्राष्ट्रिय अध्ययन, मापदण्ड र अनुसन्धानको आधार लिइएको छ। यसमा बाँसको कटाई, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण, भूकम्प प्रतिरोधी डिजाइन र घरका नमुना डिजाइन समावेश गरिएको छ। मार्गदर्शन निर्माणमा इन्जिनियरिङ अध्ययन संस्थान, नेपाल गुणस्तर विभाग र मदन भण्डारी विश्वविद्यालयले परीक्षण र अध्ययन गरेका थिए।
यसअघि बाँसजन्य निर्माण सामग्री प्रवर्धनका लागि खोटाङका स्थानीय नेताहरूले नीति बनाउने माग गर्दै सत्याग्रह समेत गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे