
काठमाडौं ।ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत ‘बेस्ट बैंक नेपाल’ र ‘बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल’ विधामा पुरस्कार प्राप्त भएको छ।
सिंगापुरमा हालै सम्पन्न एक समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका छन्।
सन् १९९२ मा युरोमनी म्यागजिनद्वारा स्थापित यो पुरस्कार बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त छ। पुरस्कार प्राप्त गर्नका लागि ग्लोबल आइएमई बैंकको ग्राहक सेवामा उत्कृष्टता, नयाँ प्रविधिको प्रयोग, र वातावरणीय, सामाजिक तथा सुशासन क्षेत्रमा गरिएको लगानी र कार्यसम्पादनको कदर गरिएको छ।
युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण र सुझावका लागि प्रसिद्ध छ। यस समूहमा बैंकिङ र वित्तीय क्षेत्रमा अनुभव भएका विशिष्ट व्यक्तिहरू समावेश छन्।
यस वर्षको पुरस्कारसँगै ग्लोबल आइएमई बैंकले दोस्रो पटक ‘बेस्ट बैंक नेपाल’ पुरस्कार प्राप्त गरेको छ। यसअघि पनि, बैंकले ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२ – बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो।
ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाबाट सम्मान प्राप्त गरेको छ, जसमा ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक अवार्ड २०२४’, र ‘बेस्ट इम्प्लोयर’ जस्ता पुरस्कारहरू समावेश छन्।
यो बैंक नेपालका ७७ जिल्लामा शाखा सञ्जाल भएको पहिलो निजी क्षेत्रको बैंक हो। यसको १,१०० भन्दा बढी सेवा केन्द्रहरूमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, र ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू रहेका छन्। बैंकले विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूबाट रेमिट्यान्स भित्र्याउने सेवासमेत प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे