
काठमाडौं । जेनजी नेपाल नामक फेसबुक पेजमार्फत आन्दोलनमा सहभागीहरूलाई सुरक्षित तरिकाले घर फर्किन आह्वान गरिएको छ। प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई शान्तिपूर्ण ढंगले हट्न आग्रह गरिएको हो।
पेजमार्फत सार्वजनिक सन्देशमा भनिएको छ, “कृपया तत्कालै सुरक्षित तरिकाले निस्कनुहोस्। धेरै स्वार्थप्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन्। चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुहोस्। हाम्रो आजको दिन सफल भइसकेको छ, अब सबै जना सुरक्षित तरिकाले घर जानुहोस्।”
उता, बानेश्वर क्षेत्रको अवस्था अहिले तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरू संघीय संसद भवन भित्र प्रवेश गरेका छन् भने संसद प्रवेशद्वारमा समेत तोडफोड भएको छ। यसअघि शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन क्रमशः नियन्त्रणबाहिर गएपछि अवस्था जटिल बनेको हो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको छ। प्रशासनले बानेश्वर क्षेत्रलाई जोखिमपूर्ण ठहर गर्दै तत्काल प्रभावबाट कर्फ्यु आदेश जारी गरेको छ।
सुरक्षा निकायले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ भने माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म कडा निगरानी राखिएको छ। प्रदर्शन चर्किँदै गएपछि सर्वसाधारणमा त्रास फैलिएको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे