
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ ले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन एकैदिन तीन वटा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। वडाले विहीबार ‘मेलमिलाप केन्द्र’, ‘एकल सेवा केन्द्र’ र ‘स्वास्थ्य प्रवर्धन केन्द्र’ औपचारिक रूपमा शुभारम्भ गरेको हो।
महिला सञ्जालले आयोजना गरेको ‘स्थानीय न्याय संवाद’ कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले ती केन्द्रहरूको उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले वडास्तरीय मेलमिलाप केन्द्र र महिला सञ्जाल स्थापना आफ्नो प्रमुख प्राथमिकता भएको बताउँदै भनिन्, “यी दुवै संयन्त्र महिलाहरूको नेतृत्वमा सञ्चालित छन्, तर उद्देश्य लैङ्गिक न्याय सुनिश्चित गर्नु हो।”
उहाँले मेलमिलाप केन्द्रमार्फत महिलामात्र नभई पीडित पुरुषहरूको पनि सुनुवाइ हुने स्पष्ट पार्नुभयो। “महानगरको हरेक वडा विवाद समाधानका लागि तयार रहनुपर्छ, तर सबै विवाद केन्द्रमा आयो भने न्याय दिन सकिँदैन, त्यसैले स्थानीय स्तरमै समाधान सुनिश्चित गर्ने संयन्त्र बनाइएको हो,” डंगोलले भन्नुभयो।
सामाजिक सम्मान र अभिवादन
उक्त अवसरमा उपप्रमुख डंगोललाई विश्व आर्थिक मञ्च–२०२५ का लागि ‘ग्लोबल यंग लिडर’मा छनोट भएकोमा वडा वासीकातर्फबाट विशेष अभिनन्दन प्रदान गरिएको थियो। यस्तै, टेबल टेनिसकी खेलाडी इन्दिरा पौड्याल पराजुलीलाई वडा–२९ को गौरव बढाएको भन्दै सम्मान गरिएको हो। साथै वडा कार्यालय भवन निर्माणमा योगदान दिने पूर्व विभागीय प्रमुख शान्ताराम पोखरेललगायत पूर्व जनप्रतिनिधि र स्थानीय अगुवाहरूलाई समेत कदर गरिएको थियो।कार्यक्रममा वडा अध्यक्ष कुश ढकालले लोकतन्त्रको मर्म जनताका समस्याको समाधान उनीहरूकै पहुँचभित्र गर्नु हो भन्दै, “शिक्षा, स्वास्थ्य र न्यायमा पहुँच पुर्याउन सके नागरिकले राज्य अनुभूति गर्छन्,” भन्नुभयो।
न्यायिक समितिका सदस्य आशा श्रेष्ठ रौनियारका अनुसार विवाद समाधानका लागि सेवा लिने नागरिकका लागि न्यायिक सहजकर्ता राखिएको छ जसले निःशुल्क निवेदन लेखनमा सहयोग गर्छ।
महिला सञ्जाल संयोजक रेणु श्रेष्ठले २०७९ कार्तिक १३ मा गठन भएको सञ्जालमा हालसम्म ९१ विवाद दर्ता भएको जानकारी दिइन्। तीमध्ये ८८ प्रतिशत विवाद मेलमिलापबाट समाधान भएको मेलमिलाप केन्द्र संयोजक संगीता पुजारीले बताइन्।
पूर्वन्यायाधीश साधुराम सापकोटाले लिच्छवीकालदेखि नै विद्यमान मेलमिलाप परम्परा अहिले झनै सान्दर्भिक रहेको टिप्पणी गर्दै, “स्थानीय तहमा हुने मेलमिलाप सबैभन्दा प्रभावकारी अभ्यास हो,” भन्नुभयो।वडाले सञ्चालनमा ल्याएको ‘एकल सेवा केन्द्र’ नागरिकलाई सेवासम्बन्धी प्रक्रिया बुझ्न र जानकारी लिन सहज माध्यमको रूपमा काम गर्नेछ। वडासचिव शम्भु बरालले सेवा लिन आउने व्यक्तिहरूलाई केन्द्रमा सम्पर्क गर्न आग्रह गर्नुभयो।
वडा सदस्यहरू सन्तोष ढुङ्गेल र अनिल श्रेष्ठले स्रोतको सीमितताबीच पनि सामुदायिक लाभलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई प्राथमिकता दिइएको जानकारी गराउनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे